एक्लोपन ...

रमेश भित्रभित्रै गुम्सिँदैछ, ऊ ५२ वर्षको भयो । तर उसको उमेर गुम्साइको कारण होइन । उ डराउँछ जीवनदेखि यसको मतलब समाजले परिभाषित गरेको पागल, बहुला या निष्काम, खत्तम उ छैन । उ सँग बस्न घर छ, अन्न उब्जाउने प्रशस्त खेत छ, परिवार छ तर पनि उ कता-कता एक्लो जोगी जस्तो छ । तर उ आफैँमा एउटा भिन्न चरित्र होइन, उ जस्ता मान्छे अनगिन्ति छन् – अरुजस्तो उ एउटा चल्तापुर्जा मेसिन भएको छ । उसले जे काम गर्छ, निश्चित हिसाब किताब गरेर मात्र गर्छ, कहिले उ नाफा मा हुन्छ त कहिले उ घाटामा । उसको दिमागका तर्क अब शरीरको निर्देशन केन्द्र भन्दा बढि केही रहेन ।

यही एक्लोपनले विरक्तिएको रमेश पुरानो पिपल को रुखमुनि बसेको छ,मानौँ उ कुनै ध्यान गर्न निस्किएको हो । त्यही रूखमा कुनैदिन उ साथीहरु सँग लुकामारी खेल्थ्यो, आज त्यही लुकेको अस्तित्वलाई खोज्न उ त्यहाँ बसेको छ । यसो रुखतिर हेर्छ, पातहरु पलाउँदैछन्, केही हप्ता अघि त्यो रूख हाड र छाला मात्र भएको शरीर जस्तो थियो, पातहरु झरेर, रुख को उतारचढाव देखेर उ मुस्कुराउँछ । फेरि सम्झिन्छ, रुखको उमेर, यो उसको बाउभन्दा अगाडि जन्मिएको प्राणी हो र सम्भवत यो नाती-पनाती को उमेर सँगै वृद्ध हुन्छ होला ।

एक जोडदार हावाको झोंकाले उसको ध्यान खल्बलाउँछ । उ आफ्नो परिचय खोज्छ तर खोज्ने ठाउँ भेट्दैन । आफूलाई मान्दा उसले एक लामो र गहिरो यात्रा गर्नुपर्छ स्वयम भित्र । यही यात्रा देखि उ डराउँछ र पाइला अघि बढाउँछ, शिर भुईंमा झुकाउँछ र अनिश्चित गन्तव्यतिर लम्किन्छ ।

No comments:

Post a Comment